Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चार पूर्व प्रधानमन्त्रीको पुर्खौली थलोप्रति कोईराला नेताहरुकै वेवास्ता

चार पूर्व प्रधानमन्त्रीको पुर्खौली थलोप्रति कोईराला नेताहरुकै वेवास्ता

  • आइतवार, भाद्र २४ २०८०

  • 563
    SHARES

  • चार पूर्व प्रधानमन्त्रीको पुर्खौली थलोप्रति कोईराला नेताहरुकै वेवास्ता

    काठमाडौं । चार पूर्व प्रधानमन्त्रीहरुको पुख्र्यौली थलो सिन्धुलीको दुम्जाप्रति कोईराला नेताहरुले नै वेवास्ता गरेको स्थानीय सरकारले गुनासो गरेको छ । नेपालका पूर्व प्रधानमन्त्रीहरू बिपी कोईराला, मातृकाप्रसाद कोईराला, गिरिजाप्रसाद कोईराला र सुशील कोइरालाको पुख्र्यौली थलो दुम्जाको विकासमा कोईराला परिवार र कोईराला नेताहरुले ठोस सहयोग नगरेको गुनासो आएको हो ।

    दुम्जा समेत पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईरालाले कोईराला परिवारका केन्द्रीय नेताहरुले दुम्जाको विकास र प्रचार प्रसारका लागि पर्याप्त चासो नदिएको स्पष्ट पार्नुभयो । “उहाँहरुलाई हामीले धेरै पटक भेटेर धेरै अनुरोध गर्यौँ, उहाँहरुले आश्वासन दिनुहुन्छ, तर पुरा गर्नु भएको छैन, यहाँ आउन पनि रुचि र चासो राख्नुहुन्न,” उहाँले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उपाध्यक्ष कोईरालाले केही दिन अगाडि विपी पुत्र शशांक कोईराला आएपनि अरु नेताहरु धेरै समयदेखि आउदै नआएको र सहयोग पनि केही नगरेको उहाँले जानकारी दिनुभयो । काँग्रेस नेता अर्जुननरसिंह केसी सहरी विकास मन्त्री भएका बेला कोईरालाहरुको पुख्र्यौली घर र जग्गालाई उद्यान बनाउन र जिर्णोद्धार गर्न बजेट छुट्याएपछि अहिले काम भईरहेको उहाँको भनाई छ ।

    केसीकै योजना अनुसार अहिले उद्यानका लागि १२५ रोपनी जग्गा घेरेर चार प्रधानमन्त्रीको मुर्ति बनाउनेदेखि विभिन्न सामान तथा संरचनाहरुको पुनर्निर्माण गर्ने कार्य भइरहेको उपाध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।

    अहिले विसं १९५० मा बनेको कोईरालाहरुको पुरानो घरमा छानो राख्ने काम भइरहेको र उद्यानको सबै काम सम्पन्न गर्न अझै दुई बर्ष लाग्न सक्ने उहाँको अनुमान छ । जिर्णोद्धार हुदै गरेको घरमा कृष्णप्रसादले नै प्रयोग गरेको ठेकी, कोदाली लगायतका सामग्रीहरु पनि राखिएको छ ।

    दुम्जामा पानीको अभाव भएपछि तीन प्रधानमन्त्रीका पिता कृष्णप्रसाद कोईरालाको परिवार विराटनगर बसाइँ गरेको हो । त्यसपछि चार कोईराला देशको प्रधानमन्त्री भएपनि दुम्जामा अझै पर्याप्त खानेपानी छैन । बिपी राजमार्गबाट छ किमी मात्रै दूरीमा रहेको दुम्जामा अझै पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन भने कच्ची धुले सडकबाट जेनतेन ‘रिजर्भ’ गरेका सवारी मात्रै पुग्छन ।

    शासन सत्तामा पुगेका कोइराला परिवारका सदस्यले यसको संरक्षणमा चासो नदेखाएको दुम्जामै रहेका बन्धुहरूको गुनासो छ । हाल दुम्जामा ६० घर कोइरालाहरूको बसोबास छ ।


    आइतवार, भाद्र २४ २०८००८:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij