काठमाडौं । नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले आफ्नो पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले केपी ओलीलाई आगामी चार वर्ष प्रधानमन्त्री बन्नै नसक्ने भन्ने ठूलो पीडा रहेकाले सत्तागठबन्धन भत्काउने खेलमा लागिरहेको आरोप लगाउनुभयो ।
यस्तै उहाँले पार्टी सभापतिले सुझबुझका आधारमा कायम गरेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने र प्रचण्डको विकल्प नखोजेको स्पष्ट पार्नुभयो ।
अहिले बजारमा महँगीको पराकाष्ठा रहेको र मन्त्रीहरुले जनतालाई डेलिभरी दिनै नसकेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री प्रचण्डमा केही गरौं भन्ने हुटहुटी रहे पनि मन्त्रीहरुले त्यस अनुसार सहयोग नगरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डबाहेक सबै मन्त्रीलाई ब्याक गराउनुपर्ने बताउँदै नेता रायमाझीले जनताको समस्या समाधान गर्न सक्ने ताजा अनुहारलाई मन्त्रीमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।