काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकीरा रहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले बोर्डभित्र खुम्लेकीरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताउनुभयो । कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकतामा मन्त्रीको जोड थियो । हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री किराँतीले भन्नुभयो, ‘हाम्रो देशको आकाशको कालोसूची हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदम उठाइसकेका छौं । छिट्टै परिणाममा पुग्नेछौं । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौं । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौं । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ ।’