काठमाडौं । सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिनेछ ।
डीभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन पाइने दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । “हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ,” दूतावासले विज्ञप्तिमा भनेको छ । डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ ।
दूतावासले भनेको छ, “अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।”
डीभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य रहेको दूतावासले जनाएको छ ।
उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । एक जनाले व्यक्तिले डीभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।
“अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डीभी आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो । हाल आएर आफ्नो डीभी आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन,” दूतावासले भनेको छ ।
अनलाइन फारम कसरी भर्ने
सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।