काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने नेताहरुको विचार निजी धारणा भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुले उठाएका कुरा आफूले पनि सुनेको बताउँदै यी सबै डा. शेखर कोइराला लगायतको व्यक्तिगत कुरा भएको दावी गर्नुभयो । गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने विचार पार्टीको आधिकारिक निर्णय नभएको पनि नेता ढुंगानाले स्पष्ट पार्नुभएको छ ।
नेता ढुंगानाले सरकारले राम्रो काम गर्ने प्रयास गरिरहेकाले केही कमीकमजोरी भए पनि आपसी छलफलमा टुंग्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै अहिलेको गठबन्धन कांग्रेसले नै बनाएकाले कांग्रेस अहिले सरकार बाहिर जाने सोचमा नरहेको पनि उहाँको भनाइ छ ।
यस्तै नेता ढुंगानाले कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहने बताउँदै पार्टीको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट पार्नुभयो ।