काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् ।
हिजोदेखि बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थी इजरायल पुगेका थिए ।
उनीहरू ११ महिनाका लागि इन्टर्न गर्न त्यहाँ पुगेका हुन् । त्यही क्रममा ‘पम्मी तसाज’ भन्ने स्थानमा एक फार्म हाउसमा इन्टर्न गर्दै आएका थिए । इजरायल र प्यालेस्टाइन हमासबीचको आक्रमणका कारण उनीहरू त्यही कृषि फार्म हाउसको बंकरभित्र लुकेर बसेका छन् ।
हिजोदेखि उनीहरू बंकरभित्रै लुकेर बसेका उनीहरू निकै त्रसित अवस्थामा छन् । सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘युद्ध जारी रहेको स्थानबाट हामी काम गर्ने फार्म २५ किलोमिटरको दूरीमा छ । तर, आवासीय क्षेत्रबाट टाढा एकान्तमा छ । सबै आत्तिएका छौँ । हिजो बिहानदेखि बंकरमा लुकेर बसेका छौँ ।’
आतङ्ककारी शहर प्रवेश गरेको हल्लाले आफूहरू बाहिर निस्किन सक्ने अवस्था नरहेको उनको भनाई छ ।