काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पार्नुभएको छ । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस सांसद केदारबहादुर कार्की पार्टी पदाधिकारी र गठबन्धनको निर्णयपविपरीत जान नहुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टी र गठबन्धनले गरेको निर्णय विपरीतका गतिवधिमा आफू नजाने पनि बताउनुभएको छ । यस्तै उहाँले आफूले शेखर कोइराला समूहलाई साथ नदिने पनि स्प्ष्ट पार्नुभयो ।
यसैबीच, कोशीको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ । संविधान र कानुनी परामर्श तथा सांसदहरुको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले साँझ दुईमध्ये एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आजसम्ममा मुख्यमन्त्रीमा दाबी गर्न सक्नेगरी समयसीमा दिएकोमा हिजो सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षधर सांसद केदार कार्कीले दाबी पेस गर्नुभएको छ ।