काठमाडौं । नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले केन्द्रीय तहमा भएका ठूला भ्रष्टाचारको बिषयमा बहस हुनुपर्ने बताउनुभएको छ । सम्बन्धीत निकायले केन्द्र र प्रदेशमा अर्बौं भ्रष्टाचार भएपनि त्यसबारे त्यत्ति ध्यान नदिएको बताउँदै केन्द्रमा भएको भ्रष्टाचारको कारणले स्थानीय तह पनि बदमान भएको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै उहाँले भन्नुभयो, ‘सात वटा प्रदेश सरकार र एउटा संघीय सरकारमाथि सम्बन्धीत निकायले निष्पक्ष छानविन गर्ने हो भने कत्ति धेरै प्रष्टाचार भइराखेको छ, यसको बिषयमा पनि अब खह्रो बहस सुरु हुनुपर्छ।’ मेयर गुप्ताले केन्द्रमा भएका ठूला भ्रष्टाचारले संघीयता झल्काउने प्रतिविम्बका रुपमा रहेको स्थानीय तहमाथिसमेत प्रश्न खडा भएको बताउनुभयो ।
उहाँले अख्तियारलगायत रहेक नियमन गर्ने निकायले केन्द्रमा भएको भ्रष्टाचारको बिषयमा पनि ठाडो हस्तक्षेप गर्न सक्ने हैसियत बनाउनुपर्ने बताउनुभयो । मेयर गुप्ताले संघीय सरकाले स्थानीय तहलाई प्रदान गर्ने बजेट पनि अत्यन्तै कम भएको गुनसो गर्नुभएको छ । अहिले केन्द्रीय सरकारनै सहि ढंगले नचलेको भन्दै उहाँले त्यसको प्रभावा स्थानीय तहसम्म परेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारको अधिकारसमेत प्रदेश सरकारले खोसेको बताउनुभयो । एक करोडभन्दा तलका जत्तिपनि योजनाहरु स्थानीय तहले सञ्चालन गर्ने भनेर संविधानले भनेको भएपनि संविधान विपरीत प्रदेश सरकारले एक लाखको योजना समेत नछोडेको गुप्ताको भनाइ छ ।
साथै तीन तहको सरकारबीच समन्वयको अभाव भएको उहाँले बताउनुभयो ।
संघीयता शिशु अवस्थामै रहेको कुरा सबैले बुझेर सोहीअनुसार रहेक निकाय अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले कसले कत्ति कानून मिचेर जान सक्छ भन्ने खालको एउटा होटबाजी जस्तो मात्र देखिएकोले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।
मेयर गुप्ताले अहिले रामग्राम क्षेत्रमा विकास निर्माणको कामले पनि ठूलो फड्को मारेको दाबी गर्नुभयो । आफूहरु निर्वाचित भएर आइसकेपछि पाँच वटा गाउँलाई नमुना गाउँको रुपमा विकास गर्नुका साथै अन्य भौतिक पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी सृजना लगायतको क्षेत्रमा पनि नगरपालिका निरन्तर अघि बढिरहेको मेयर गुप्ताले बताउनुभयो ।
सुन्नुहोस् मेयर गुप्तासँग गरिएको कुराकानी :