काठमाडौं । कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले कर्णाली प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्ताव पार्टी एकताको भावना र सहमती विपरित भएको बताउनु भएको छ ।
उहाँले पार्टी भित्रको सहमती र भागबण्डाका आधारमा कर्णाली प्रदेश तत्कालिन माओवादीको नेतृत्वमा बनाइएकाले बहुमत देखाउनुको अर्थ नभएको तर्क गर्नुभयो ।
कर्णाली प्रदेशको सरकार तत्कालिन एमाले पक्षले खोसेमा देशभरीकै पार्टी एकता विथोलिने चेतावनी पनि उहाँले दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो, यो विवाद सम्हालिएन भने पार्टी एकता धरापमा पर्छ, एकता भाड्ने खालको घटना हो यो, यसले देशभरी नै असर गर्छ, कर्णाली प्रदेशको मात्रै कुरा हैन ।
उहाँले पार्टी एकता बचाउने हो भने यो विवादलाई केन्द्रबाट नै तत्काल रोक्नु पर्ने बताउदै केन्द्रको निर्देशनको प्रतिक्षा गरिरहेको जानकारी दिनुभयो ।
नेपालमा प्रदेश सरकार र प्रदेश पार्टी कमिटि पूर्ण स्वायत्त नरहेको दावी गर्दै प्रवक्ता केसीले केन्द्रको निर्णय र निर्देशन चल्ने तर्क गर्नुभयो ।
प्रदेश सरकारको पुनर्गठन गर्ने निर्णय केन्द्रले यस अघि नै गरिसकेकाले त्यही अनुसारको गृहकार्य भइरहेका बेलामा एक जना व्यक्तिलाई मुख्यमन्त्री बन्ने चाहनाका आधारमा अहिलेको विवाद सृजना गरिएको उहाँले आरोप लगाउनुभयो ।
असन्तुष्टिहरु छन भने छलफल गरेर निकास निकाल्न सकिने बताउदै उहाँले पार्टीको निर्णय विना भएका गलत कृयाकलापमा संलग्नहरुलाई तत्काल कारबाही गर्न पनि उहाँले माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “माओवादीको भागमा पारेको प्रदेश सरकारको विषयलाई एमालेले पेलेर हुदैन, कुतर्क, गणित भन्दा एकताको सहमती, मर्म अनुसार हुने कुरा हो ।”
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रशंसा गर्दै उहाँले भन्नुभयो, म खुलेर भन्न चाहन्छु, हामी त भाग्यमानी छौँ, उहाँले कहिले पनि नराम्रो कामका लागि दवाव दिनु भएको छैन, सधैँ राम्रो कामका लागि प्रेरित गरिरहनु भएको छ, चिन्ता गरिरहनु भएको छ ।
“को मुख्यमन्त्री सफल भयो, कोही भएको छैन, केन्द्रीय सरकार नै सफल छैन भन्ने छ नी, हामीले के नराम्रो गरेका छौँ? यति अफ्ट्यारो परिस्थीतिमा पनि यती गर्यो भन्नु पर्यो नी ” प्रवक्ता केसीको भनाई छ ।
नेकपाका प्रदेश सभा सदस्य यमलाल कँडेलप्रति लक्षित गर्दै उहाँले सहयोग गर्नु पर्ने नेता नै विरोधमा लागेकाले समस्या भएको उल्लेख गर्नुभयो । ।