काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंज्यूको घर काठमाडौंमा छँदा पनि छैन । काठमाडौंको स्थानीय प्रशासनले उहाँलाई नजरबन्दमा राख्ने कुरा नै भएन । मलाई प्राप्त जानकारी अनुसार उहाँलाई नै नजरबन्दमा राखिएको छैन । हामीले उहाँलाई काठमाडौं प्रवेश गरेदेखि नै सुरक्षा प्रदान गर्दै आएका थियौं । उहाँको घरमा पनि सुरक्षा चुनौतीका आधारमा सुरक्षा दिइएको हो । यो किसिमको अफवाह किन फलिरहेको छ, हामी पनि बुझिरहेका छैनौं । उहाँलाई सुरक्षा प्रदान गरिएको हो । उहाँलाई सुरक्षा चाहिँदैन भने राज्यलाई हटाइदिनुस् भन्नुपर्यो। उहाँलाई हामीले नजरबन्दमा राख्नुपर्ने कुनै कामै छैन।’
प्रजिअ बस्नेतले प्रसाईंले आज पनि तीनकुनेमा कार्यक्रम गर्न नपाउने बताउनुभयो । उहाँले आजका लागि सिफलचौरमा तोकेको जनाउँदै शान्तिपूर्ण कार्यक्रम गर्न खोजे सुरक्षा प्रदान गरिने बताउनुभयो । अस्ति बल्खुमा जस्तै दायाँबायाँ गरेर अराजक हर्कत देखाउन खोजेको खण्डमा भने ठाउँका ठाउँ नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने जिकिर गर्नुभयो ।
अस्ति राष्ट्रिय युवा संघलाई किन तीनकुनेमा कार्यक्रम गर्न दिनुभयो त भन्ने पत्रकार धमलाको प्रश्नमा प्रजिअ बस्नेतले भन्नुभयो, ‘तीनकुने अन्तर्राष्ट्रिय विमानस्थल छेउमा छ । आयल निगमको हवाई डिपो छ । अस्ति हामीसँग अप्सन थिएन । त्यसैले पर्यटन मन्त्रालयसँग समन्वय नगरी दिएका थियौं । आइकाओको प्रोटोकल अनुसार त्यसरी कार्यक्रम गर्न दिन मिल्दैन भनेर अस्ति नै पर्यटन मन्त्रालयले प्रश्न उठाएको छ । त्यसैले हामीले तीनकुनेको अप्सन हटाइसकेका छौं । अब कुनै पनि किसिमका कार्यक्रम तीनकुनेमा राख्न दिँदैनौं । हामीले तीनकुनेलाई सूचीबाट हटाइसकेका छौं ।’
प्रसाईं समूहलाई आन्दोलनका कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भनेको पनि काठमाडौंका प्रजिअ बस्नेतले प्रष्ट पार्नुभयो । साथै उहाँले प्रसाईंको समूह नियन्त्रण बाहिर रहेको जिकिर गर्नुभयो । उहाँले प्रसाईंको समूहमा अराजक झुन्डहरू रहेको र त्यो नियन्त्रणबाहिर रहेको बताउँदै त्यो झुन्डले निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, उच्चपदस्थ व्यक्तिहरूको निवास घेराउ र आक्रमण गर्ने गलत मनसायको कार्यक्रम अघि बढाउन खोजेको सूचना पाएको दाबी गर्नुभयो ।