युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ । हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ । तर, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई हराउँन हैदराबादलाई सहज भने हुने छैन ।
हैदराबादलाई हराएर चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ । यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । हैदराबाद भने चेन्नईलाई लगातार दोस्रो भेटमा पराजित गर्न चाहन्छ ।