काठमाडौं । नेकपा एमालेको समृद्धि संकल्प यात्राको चौँथो दिन आज (आइतबार) सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेशमा सभा हुँदै छ ।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आज कर्णाली प्रदेशको दैलेखमा विशेष सभा हुने भएको छ । यात्राका क्रममा देखिएको उत्साह र आकर्षणले एमालेप्रति जनताको विश्वास धेरै रहेको र अब यो अभियानले सुदृढिकरणलाई थप मद्दत पुग्ने देखिएको पाण्डेको भनाइ छ ।
एमालेको आजको यात्रामा बिनायक, राकम, जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ । दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले बताउनुभयो ।
एमालेले हिजो अछामको मंगलसेनमा सभाका साथै चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट र अन्तरक्रिया गरेको थियो ।
एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।
अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।
यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।
१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । एमालेले यो यात्रालाई आगामी चुनाव केन्द्रित अभियानको रुपमा लिएको छ ।