काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेप्रति जनताको विश्वास देखिएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका ज्ञवालीले पार्टीले सुरु गरेको ‘समृद्धि संकल्प यात्रा’का क्रममा देशका अधिकांश स्थानमा जनतालाई प्रत्यक्ष भेट्दा र उनिहरुका विचार कुरा सुन्दा जनताले केहि गुनासा र सुझावसहित एमालेलाई धेरै विश्वास देखाएको आफूले पाएको बताउनुभयो ।
यस्तै नेता ज्ञवालीले देशमा भइरहेको अहिलेको बेथिती र भ्रष्टाचारको जिम्मेवार एमाले नभई सत्तागठबन्धन हो भन्ने कुरा जनताले राम्रोसंग बुझेको पनि स्पष्ट पार्नुभयो । अहिले निर्वाचन पनि नभएको, जनताले माग गरे अनुसार बजेट छुट्टयाउन सक्ने गरि आफूहरु सरकारमा पनि नभएको अवस्थामा यति धेरै क्रेज हुनु नै एमालेप्रति जनताको विश्वास भएको प्रस्टै देखिएको नेता ज्ञवालीले बताउनुभयो ।
यस्तै नेता ज्ञवालीले देश बनाउन एमालेले सक्छ भन्ने आधार भएको पनि दाबी गर्नुभएको छ । यस्तै पार्टीले यहि मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ ।
हिजो पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेको हो । नेता ज्ञवालीका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ
३ हजार २ सय मिटर अग्लो त्यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने छ ।