काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन ।
उहाँले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आउनुभएको छ । तर, राजीनामा बुझाएको तीन सातासम्म ठोस कुरा खुलाएका छैनन् । गजुरेलको राजीनामाको विषयमा बिहिबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराउनुभएको थियो । तर, स्वीकृत गर्ने नगर्ने भन्ने विषय राख्नुभएन ।
गजुरेल भन्नुहुन्छ, ‘उहाँले पार्टीको बैठकमा मेरो राजीनामाबारे जानकारी गराउनुभयो । मैले पनि मेरो कुरा राख्छु भन्दा उहाँले तपाईंसँग छुट्टै छलफल गर्छु भन्नुभयो । त्यसपछि कुरा भएको छैन ।’
उहाँले अहिलेसम्म राजीनामा स्वीकृत भएको बालुवाटारबाट खबर नआएको बताउनुभयो। त्यसो त गजुरेलमाथि राष्ट्रिसभामा जानको लागि राजीनामा दिएको चर्चा पनि छ । तर, त्यो कुरा उहाँले अस्वीकार गर्नुभएको छ ।