काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र वरियताको विवाद सतहमा पुगेको छ । सभापति शेरबहादुर देउवापछि दोस्रो को बन्ने विषयमा विवाद बल्झेको हो । पार्टीभित्रको वरियता विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेका छन् । हाल कांग्रेसमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियतामा उपसभापति खड्का छन् । तर देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको छ । कांग्रेस नेता एवं सांसद प्रदीप पौडेलका अनुसार विधानमा वरिष्ठ नेता भने उल्लेख छैन । नेताहरुको कामकारबाही र अनुभवले पनि उनीहरुलाई सम्मान दिन सकिने उहाँको तर्क छ ।
उपसभापति खड्काले पार्टी कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने अडान लिएका कारण खड्का र कोइराला एउटै कार्यक्रममा सँगै नदेखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश समितिले १६ र १७ मंसिरमा पहिलो सम्मेलन आयोजना ग¥यो । पहिलो कार्यक्रम भएकाले प्रदेश समितिले पार्टी सभापति देउवासँगै अरु शीर्ष नेताहरुलाई पनि बोलाएको थियो । सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु उपस्थित भए । तर उपसभापति खड्का जानुभएन । मंसिर १९ मा ओखलढुङ्गाको पहिलो जिल्ला सम्मेलनमा सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी भएका थिए । यता, गत बिहीबार मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु सहभागी थिए । तर, वरियता विवाद देखिएपछि कोइरालाले मात्रै होइन उनी निकट नेताहरुले समेत कार्यक्रम बहिष्कार गरेका थिए । कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बाँनियाले पार्टीको केन्द्रीय कार्यसमितिले वरियताको निर्णय नगरेकोले सामान्य विवाद आएको बताउनुभयो ।
नेपाली कांग्रेसभित्र पछिल्लो समय गुटगत विवाद छताछुल्ल बन्दै गएको छ । पार्टी नेतृत्वले एकलौटी लाद्न खोज्दा इत्तर पक्ष रुष्ट बन्दै गएको छ । पछिल्लो समय त इत्तरभित्र पनि महत्वकांक्षा बढ्दै जाँदा विवाद हुने गरेको छ ।