काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले देशको राजनीति अनिश्चित बनिरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका खड्काले गठबन्धनको एकतामात्रै नभएर सरकारको काम र बिद्रोह चरणमा पुगिसकेको जनतामा बढ्दो नैराश्यता लगायतका कारण देशकोको राजनीतिक अवस्था अनिश्चित बनेको स्पष्ट पार्नुभयो ।
गत शुक्रबारमात्रै ललितपुरको बालकुमारीमा भएको दर्दनाक घटना नै बढ्दो चरम असन्तुष्टीको कारक रहेको र जनता अब विद्रोको चरणमा पुगिसकेको नेता खड्काको भनाइ छ ।
प्रधानमन्त्रीले केहि समय अगाडिमात्रै आफ्नो एक वर्षे कार्यकालको अवधिमा गरेको सम्बोधनमा गरेका घोषणा र प्रतिवद्धताहरु पनि पूरा हुने नहुनेमा शंका व्यक्त गर्दै नेता खड्काले जनजिविकाको मुद्दामा केहि प्रभाव परेको छ की छैन भन्ने कुरामा सरकार दृढ भएर लाग्नुपर्ने र गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
निष्पक्ष, पादर्शी ढंगबाट र भ्रष्टाचाररहित सरकारका कामहरुबाट जनता प्रत्यक्ष लाभान्वित भए भएनन् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्याङकन गर्नुपर्ने नेता खडकाको भनाइ रहेको छ ।
यस्तै मन्त्री फेरबदलको प्रसंगमा नेता खड्काले काम र मूल्याङकनको आधारमा मन्त्री परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । एक व्यक्तिमा मात्रै केन्द्रित भएर मन्त्री फेरबदल गर्न नहुने पनि नेता खड्काको भनाइ छ ।
मन्त्री परिवर्तन गर्नु नै पर्ने अवस्था आएमा गठबन्धनमा रहेका सबै दलहरुले गर्नुपर्ने बताउँदै नेता खड्काले एक दलले गर्दा अर्कोले नगर्दा राम्रो प्रभाव नपर्ने स्पष्ट पार्नुभयो ।
निर्वाचन हारेका व्यक्ति नारायणकाजी श्रेष्ठलाई छानीछानी पहिला भौतिक र अहिले गृहमा ल्याउनु पनि जनतामा बढेको निराशाको कारण रहेको बताउँदै नेता खड्काले जनताले जिताएका व्यक्ति सडकमा हिड्नु पर्ने र जनताले तिरस्कार गरेका व्यक्तिलाई महत्वपूर्ण मन्त्री पदमा राख्नुले जनतामा निराशा र विद्रोह बढेको दाबी दाबी गर्नुभयो ।
यस्तै बाहिर सार्वजनिक भइरहेका भ्रष्टाचारका घटनालाई सत्यतथ्य छानविन गर्न सरकार असफल भएको पनि नेता खड्काले आरोप लगाउनुभयो ।