काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दललाई समेटेर उम्मेदवार बनाउनु औचित्यपूर्ण नभएको बताउनुभएको छ । अहिले बनिरहेको गठबन्धनमा अर्को दललाई समेट्ने कुरा तर्कपूर्ण नहुने नेता घिमिरेले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुविधाको र भोलिका दिनमा अहिलेको सत्ता गठबन्धन टुटिहाले एमालेसँग जान सक्ने बाटो खोल्नका लागि यो सबै काम गरिरहेको आरोप लगाउनुभयो ।
गठबन्धनले आफ्नो संख्या पर्याप्त हुँदाहुँदै, गठबन्धनभित्रैका दलहरुका नेताले राष्ट्रिय सभामा जाने अवसर पाउछन् भने अर्को दललाई अवसर दिने कुरा कुनै पनि हालतमा राम्रो नहुने बताउँदै नेता घिमिरेले यसबाट गठबन्धनबीच विश्वास नदेखिएको पुष्टि हुने बताउनुभयो । राज्यको स्वार्थलाई केन्द्रविन्दुमा राखेर यो सबै काम नभएको पनि नेता घिमिरेले दाबी गर्नुभयो ।
सातै प्रदेशमा गठबन्धनको बलियो मतभार रहे पनि राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेत भागबन्डामा सामेल गराउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । राष्ट्रिय सभामा भागबन्डाको हिस्सेदार भएर कांग्रेस र माओवादीसँग सहकार्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं अघि बढेपछि प्रधनमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा १९ सिटमा एमालेलाई केही सिट दिन तयार देखिएका छन् ।
हिजो बसेको बैठकबाट ३ सिट एमालेलाई दिने, बाँकी निर्वाचन हुने १६ सिट र राष्ट्रपतिद्वारा मनोनीत हुने एकमा सत्तारूढ दलहरूबीच भागबन्डा मिलाउने मोटामोटी कुराकानी भए पनि तर यो कुरामा माधव नेपाल र उपेन्द्र यादव सकारात्मक नभएपछि कुरा मिल्न सकिरहेको छैन ।