Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
राष्ट्रिय सभा निर्वाचन

प्रदेशमा भएको मतभारका आधारमा हामीले दाबी गरेको सिट पाउनुपर्छ: देवेन्द्रराज कँडेल

प्रदेशमा भएको मतभारका आधारमा हामीले दाबी गरेको सिट पाउनुपर्छ: देवेन्द्रराज कँडेल

  • आइतवार, पौष २२ २०८०

  • 541
    SHARES

  • प्रदेशमा भएको मतभारका आधारमा हामीले दाबी गरेको सिट पाउनुपर्छ:  देवेन्द्रराज कँडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले राष्ट्रिय सभा निर्वाचनमा आफूहरुले दाबी गरेको १३ सिट नै पाउनुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कँडेलले प्रदेशहरुमा भएको मतभारका आधारमा आफूहरुले १३ सिट दाबी गरेको र पाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

    गएराति अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकबाट दलहरु बाँडफाँटमा लगभग सहमति नजिक पुगेका छन् । सिट सङ्ख्याको टुङ्गो पनि लगाएको छ तर यसको अन्तिम निर्णय भने आज बिहान बस्ने बैठकले गर्ने नेता कँडेलले बताउनुभयो । गठबन्धनको बैठक आज पनि बस्दै छ । आजको बैठकबाट सिट बाँडफाँडमा अन्तिम सहमति जुट्ने कँडेलको भनाइ छ ।

    निर्वाचन हुन गइरहेका १९ सिटमध्ये बैठकमा भने नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ नेकपा एसले दुई र जनता समाजवादी पार्टी जसपाले एक सिट लिने निर्णय भएको छ । दलहरुबिच सिट संख्याको मागमा तलमाथि भए पनि गठबन्धनमा रहेका दलहरुबिच भने सबैलई मिलाएर भागबण्डामा सहमति हुने नेता कँडेलको विश्वास रहेको छ ।

    पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।

    माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
    कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ ।

    २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।

    गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।


    आइतवार, पौष २२ २०८००८:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij