काठमाडौं । पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले एनसेलको शेयर खरिद बिक्री प्रकरण पारदर्शी नभएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सरकारले गठन गरेको छानबिन समितिका संयोजक समेत रहनुभएका शर्माले एनसेलको शेयर खरिद बिक्री प्रकरण पारदर्शी नभएकाले यसलाई यथास्थितीमा स्विकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।
संयोजक शर्मा नेतृत्वको समितिले दुवै पक्षले शेयर खरिदबिक्री गर्नुपूर्व दूरसञ्चार प्राधिकरणमा निवेदन नदिएको र स्वीकृति पनि नलिएको भन्दै यथास्थितिमा सम्झौता स्वीकार नगर्न सुझाव दिएको छ । छानबिन समितिले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । विभिन्न पाटोबारे अध्ययन गरेर यी यस्ता कारणले खरिदबिक्री सम्झौता स्वीकार गर्नु हुदैन भनी सुझावसहितको प्रतिवेदन बुझाएको शर्माले बताउनुभयो ।
समितिले हिजो जारी गरेको विज्ञप्तिमा पनि एनसेल खरिदबिक्रीको सम्झौता शर्तहरु विश्लेषण गर्दा आर्म्स लेन्थ प्रिन्सिपल अनुसार नभएको उल्लेख गरेको छ ।
मलेसियाली कम्पनी आजियटाबाट एनसेलको शेयर खरिद गर्ने भनिएको कम्पनी स्पेक्ट्रलाइट क्यूकेको क्षमतामा नै समितिले प्रश्न उठाएको छ । खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत, सञ्चालकको व्यावसायिक पृष्ठभूमि, सञ्चालकहरुबीच हुनसक्ने क्रस होल्डिङको अवस्था लगायत अदालतको आदेश समेत अध्ययन गरेर यसबारे निर्णय लिनुपर्ने समितिको सुझाव छ ।
हालको कानुनी व्यवस्था अनुसार, आधाभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार कम्पनीले अनुमति पाएको २५ वर्षपछि उसको जग्गा, भवन, यन्त्र उपकरण तथा संरचनामा सरकारको स्वामित्व हुने व्यवस्था छ । समितिले त्यो कानुनी व्यवस्थाको सुनिश्चितता हुने गरी शर्त राख्न सिफारिस गरेको छ ।