काठमाडौं । माओवादी केन्द्रका नेता राजन दाहालले पार्टीले चलाएको भ्रष्टाचारविरुद्धको अभियानको सकारात्मक परिणाम देखिएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्षको अवधिमा भ्रष्टाचारविरुद्ध सकारात्मक परिणाम देखिएको दाबी गर्नुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हिजो सार्वजनिक गरेको प्रतिवेदन पूराना डाटाहरुसंग जोडिएको प्रतिवेदन रहेको बताउँदै नेता दाहालले यो आर्थिक वर्षमा भ्रष्टाचारसंग जोडिएका हजारौ विषयहरु रहेको र नियन्त्रणको प्रक्रिया सुरु भएकाले यसको परिणाम आउन केहि समय लाग्ने स्पष्ट पार्नुभयो । यस वर्ष प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध गरेका काम र गतिविधिहरुको परिणाम अर्को वर्ष सकारात्मक आउने नेता दाहालको भनाइ छ ।
वर्षौदेखि थुप्रिएको भ्रष्टाचारको फोहोर रातारात सफा गर्न नसकिने भएकाले आगामी वर्षको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रतिवेदनमा नेपालले सुधार गर्ने नेता दाहालको विश्वास रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाललले हिजो सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांकमा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अंकसहित एक सय आठौँ स्थानमा देखिएको छ ।
नेपालले भ्रष्टाचार सूचकांकमा गत वर्षको भन्दा एक अंक सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अंकसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अंकसहित एक सय १७औँ स्थानमा थियो ।