काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टी विरोधको लागि विरोध गर्ने नभएको बताउनुभएको छ ।
प्रमूख प्रतिपक्ष भएकाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्छ भन्ने निश्कर्षसहित देश जनताको हितका काम र कुरा भए समर्थन गर्ने बताउँदै बेथिती र भ्रष्टाचारविरुद्ध आलोचना विरोध गर्ने र सुझाव दिने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले जनताका गुनासा, माग र समस्यासहित अहिले सरकार जसरी चलिरहेको छ यो गलत र सन्तोषजक नभएको भन्ने स्पष्ट हुने गरी लिखितरुपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको स्मरण गराउँदै ज्ञवालीले प्रधानमन्त्रीले मौखिकरुपमा भने आश्वासन दिने तर कार्यान्वयन गर्नतर्फ कमजोर रहेको आरोप लगाउनुभयो ।
पछिल्लो समय एमालेले विभिन्न क्षेत्रको नियुक्तीमा भागवण्डा खोजीरहेको भन्ने बाहिर आइरहेका विषयमा उपाध्यक्ष ज्ञवालीले संसदको दोस्रो ठुलो र लोकप्रियताको हिसावले ठुलो दल एमालेले भागबण्डा खोजेको भन्दा पनि पाउनुपर्ने कुरा र अधिकार भएको दाबी गर्नुभयो । सत्ताबाट लिनुपर्ने र पाउनुपर्ने कुराहरु स्वतः लिने र पाउनैपर्ने उहाँको भनाइ रहेको छ ।
यस्तै टिआरसी विद्येयकको प्रकरणमा उपाध्यक्ष ज्ञवालीले पिडित पक्षलाई न्याय हुने गरी पास गर्नुपर्छ भन्ने आफूहरुको माग र अडान रहेको स्पष्ट पार्नुभएको छ । सरकारले चाहेको जस्ताकोतस्तै पास हुन नदिने बताउँदै मुलतः जनता र पिडित केन्द्रत भएर यो विद्येयक छिट्टै पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।