काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको बैठक आज समापन हुने प्रमुख सचेतक पदम गिरीले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो ।
हिजोको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा सांसदलाई प्रशिक्षण दिनुभएको थियो । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ ।
भोलिदेखि सुरु हुने अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।
यस्तै अर्को प्रसंगमा प्रमुख सचेतक गिरीले पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन र सम्वृद्धीको बाटोमा अगाडि बढाउने कुरामा संकल्पका साथ लाग्नुपर्नेमा त्यसो नगरेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका गिरीले मुलुकमा व्याप्त तमाम समस्याहरुको समाधान गरेर देशलाई सुशासन र सम्वृद्धीको बाटोमा अगाडि बढाउने कुरामा लाग्नुपर्ने नेतृत्व नै भ्रष्टाचार र कुशासनमा अगाडि रहेको स्पष्ट पार्नुभएको छ ।
जनमत र लोकप्रिय मतको हिसावले एमाले देशको सबैभन्दा ठुलो पार्टी हुँदाहुँदै पनि अंकगणितिय हिसावले दास्रो पार्टीमा रहनुपरेको स्मरण गराउँदै गिरीले तेस्रो पार्टी माओवादी केन्द्रले मुलुकको नेतृत्व गर्दा पनि आफूहरुलाई कुनै आपत्ती नरहेको तर देश र जनताका लागि केहि पनि नगर्दा भने यो सरकार पूर्णरुपमा असफल भइसहेको आरोप लगाउनुभयो ।
कुनै पनि क्षेत्रमा जनता सुख र अमनचयनमा नरहेकोले जनतामा इतिहासकै धेरै चरम निराशा भएको पनि गिरीको भनाइ छ ।