काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताको स्वतन्त्रताका लागि पनि निर्वाचनमा गठबन्धन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले दलहरुबिचको गठबन्धनका कारण आम नागरिकलाई पूर्ण स्वतन्त्रता र स्वतन्त्रताको दायरा फराकिलो नभएको बताउनुभयो ।
आम मतदाता नागरिकले आफूले सहि ढंगले र स्वमर्जिले छनौट उम्मेदवार छनोट गर्न पाउने अधिकारलाई कुन्ठित पार्न नहुने पनि नेता पौडेलको भनाइ छ ।आम जनतालाई अबका चुनावमा गठबन्धनको बलमा कुनै पनि ढंगले प्रभावित पार्न नहुने पनि उहाँले बताउनुभएको छ ।
नेता पौडेलले संविधान र लोकतन्त्रको आशयलाई व्यवहारमा साँघुरो बनाउने, दलहरु आपसमा मिलेर नागरिकको विवेकले नभइ दलहरुको गठबन्धनले निर्णय गर्ने अवस्था बन्यो भने पूर्ण स्वतन्त्रता उपभोग गर्न सक्ने स्थिती नबन्ने भएकाले सत्ताकै निम्ती सबैथोक गर्ने कुरा प्रदान बन्न नहुने स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति देखिए पनि अन्ततः सभापति शेरबहादुर देउवा सहमत देखिनुभएको छ ।
अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत हुनुभएको हो । सत्ता गठबन्धन पाँच वर्षसम्म नै निरन्तर रहन्छ भनेर भन्ने नेताहरु बाटै आगामी चुनावमा गठबन्धन नगर्ने भन्ने कुराहरु सार्वजनिक भएपछि विभिन्न किसीमका टिकाटिप्पणी हुन थालेका छन् । माओवादी र कांग्रेसको गठबन्धनमा कोशी प्रदेशबाट दरार सुरु भएको मानिन्छ ।
कोशीमा माओवादीलाई कांग्रेसले धोका दिएको कुरा उठिरहँदा अब कांग्रेसमा पनि चुनावी गठबन्धन नगर्ने कुरा आउँदा विभिन्न दलको फरक–फरक मत आइरहेको छ ।