काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले सरकारले भ्रष्टाचार अन्त्य गर्ने नाममा भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता ज्ञवालीले देशमा व्याप्तरुपमा बढिरहेको महंगी, गरिवि र बेरोजगारीको अन्त्य गर्न, समाधान खोज्नतर्फ नभई सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभयो । सरकारले सानासानालाई समाएर ठुला र मूख्य भ्र्रष्टाचारीलाई जोगाएर नाटक मन्चन गरिरहेको पनि उहाँको भनाइ रहेको छ ।
आफूहरु अहिले सरकारमा नभएकाले कुनै पनि कार्यक्रम लागू गर्न नसके पनि जनता र देशको समस्याहरु समाधान गर्नुपर्छ भनेर जनदबाव गर्ने काम गरिरहेको नेता ज्ञवालीले स्पष्ट पार्नुभयो । देश र जनताका तमाम समस्याहरुको समाधानका लागि विभिन्न कार्यक्रम र निति ल्याउने काम सरकारको जिम्मेवारी भए पनि सरकार जिम्मेवारीबाट पन्छिएको नेता ज्ञवालीको आरोप रहेको छ । यस्तै आफूहरुलाई तत्काल सरकारमा जाने कुनै लोभ नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
न्याय मार्चका लागि २३ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरव्याजपीडितको समस्या भने अब सरकारले तत्काल हल गर्नुपर्ने र सहकारी पीडितहरुको क्षतीपुर्ती पनि सरकारले उपलब्ध गराएर न्याय दिनुपर्ने नेता ज्ञवालीको माग रहेको छ ।
यस्तै नेता ज्ञवालीले सरकारमा रहेका नेताहरु, मन्त्री र कर्मचारीहरु जो जहाँ–जहाँ दोषि देखिन्छन् तुरुन्तै कारवाही र बर्खास्त गर्नुपर्ने समेत बताउनुभएको छ । एमालेले हिजोको प्रतिनिधिसभाको बैठकमा पनि एकैसाथ तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।
हिजोको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गर्नुभएको हो र एमालेको हिजोमात्रै सकिएको केन्द्रिय कमिटी बैठकमा पनि विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग माग गरेको छ ।