काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले सत्ता गठबन्धन भत्काउनेतर्फ नरहेको बताउनुभएको छ । कोशी प्रदेशको नतिजा र सरकार विस्तारलगायतका असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् ।
अब भने गठबन्धनमा संकट भन्ने सार्वजनिक भइरहेका अनुमानित खबरहरु पुष्टि हुन थालेका छन् । हिजो साँझ प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि छलफल भएको भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको बुझिएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विडारीले भने विभिन्न समसामयिक विषयमा छलफल गर्न भेटवार्ता भएको हुन सक्ने दाबी गर्नुभएको छ ।
हिजो साँझको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागि थिए ।
कांग्रेस महासमितिमा भएको निर्णय, राष्ट्रिय सभामा अध्यक्ष उठाउने माओवादीको निर्णयलगायतका केहि विषयमा विवाद देखिए पनि तत्काल गठबन्धन् टुटिहाल्ने भने सम्भावना नभएको नेता बिडारीको विश्वास रहेको छ ।