काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता प्रदीप यादवले संघीयता बचाउनको लागि चार दलीय गठबन्धन बनेको बताउनुभएको छ ।
कांग्रेससँगको गठबन्धन टुटाएर हिजो मात्रै माओवादी, एमाले, रास्वपा र जसपासम्मिलित चारदलिय गठबन्धन बनेको छ । हिजो नै एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले मन्त्रीको शपथ लिइसकेका छन् भने यी तीनै जना अहिलेलाई विनाविभागीय मन्त्री हुन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पूर्वमन्त्री समेत रहनुभएका यादवले अहिलेको सिस्टम बचाउन र संघीय लोकतन्त्र, गणतन्त्र सुदृढ बनाउनका लागि गठबन्धन बनेको र यसबाट जनताले अनुभुति गर्नेखालका कामबारवाहीहरु गर्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकबाट भएका निर्णयहरुका कारण पनि यो गठबन्धनको उदय भएको नेता यादवको भनाइ छ ।
अहिलेको चार दलीय गठबन्धनले देशमा सुशासन ल्याउने, जनतामा छाएको निराशा आसामा बदल्ने, खराव देखिएको अर्थतन्त्रको अवस्थालाई नियन्त्रण गर्ने नेता यादवको दाबी रहेको छ । यस्तै नितान्त देश र जनताको विकाश संवृद्धिका लागि मात्रै समर्पित भएर आफूहरु काम गर्ने पनि नेता यादवको प्रतिवद्धता रहेको छ ।