काठमाडौं । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताउनुभएको छ । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका लागि र जनताको चाहनाअनुसारको बनेको मन्त्री तामाङले स्पष्ट पार्नुभयो ।
जनताले अनुभुति गर्नेगरी, भ्रष्टाचार र बेथितीविरुद्ध काम गर्ने बताउँदै नेता तामाङले यो वर्तमान सरकारबाट देशले मुहार फेर्ने आसा व्यक्त गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले गठबन्धनलाई टिकाइराख्नको लागि चारै दल प्रतिवद्ध भएकाले यसले जनता र देशका लागि मात्रै काम गरेर देखाउने विश्वास दिलाउनुभएको छ । यस्तै स्थायित्व राजनीति लक्ष भएकाले गठबन्धन निरन्तर रहनेमा आफू ढुक्क भएको उहाँको भनाइ छ ।
कांग्रेस महासमिती बैठकमा भएका केहि निर्णय र कोशी प्रदेशको नतिजाबाट आफूहरुलाई धोका र गठबन्धनको निति विपरित भएकाले नै अहिलेको गठबन्धनको उदय भएको पनि नेता तामाङले स्पष्ट पार्नुभयो ।
मिटरव्याज पीडितलगायत विभिन्न माग राख्दै आन्दोलनमा रहेका पीडितहरुको माग सम्बोधन गर्नेगरी सरकार अगाडि बढ्नेसमेत मन्त्री तामाङको प्रतिवद्धता रहेको छ ।
यस्तै मन्त्री तामाङले ललिता निवास, भुटानी शरणार्थी र गिरीबन्धु टि–स्टेटलगायत घोटाला प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले गरेका कामकारवाहीले जनतामा आसा जगाएकाले आगामी दिनमा यस्ता भ्रष्टाचार र बेथितीबिरुद्ध निरन्तर काम गरेर प्रतिफल दिने दाबी गर्नुभयो ।