काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता मनिस सुमनले भ्रष्टाचारमा संलग्न जो कोहिलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले मन्त्री, पुर्वमन्त्री या पूर्वउपराष्ट्रपतिका छोराछोरी, नातेदार जो कोहि पनि देशलाई बदनाम र रित्तो बनाउन विभिन्न प्रकरणमा संलग्न छन् ती सबैलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा संलग्न देखिएको पुष्टि भएसंगै अर्थमन्त्री वर्षमान पुन पनि तस्करीसँग सम्पर्कमा रहेको पुष्टि भएको छ । देशमा भएका ठुला भ्रष्टाचार र तस्करमा शिर्षस्थ नेता र मन्त्रीहरुनै संलग्न देखिए पनि कारवाहीको दायरामा नल्याउनुले भ्रष्टाचार र बेथिती झन् बढिरहेको नेता सुमनको भनाइ छ ।
यस्ता नेता र मन्त्रीहरुका कारण इमानदार, देश र जनताका लागि काम गर्छु भन्ने उदेश्य राखेका मन्त्रीहरु पनि बदनाम बनेको उहाँको गुनासो रहेको छ । सानालाई कारवाहीमा ल्याएर मूख्य र ठुलालाई उन्मुक्ति दिने खेल अब बन्द हुनुपर्ने माग गर्दै उहाँले तस्कर र भ्रष्टारमा संलग्न जो कोहिलाई पनि छाड्न नहुने तर्फ सरकार प्रतिवद्ध रहनुपर्नेमा जोड दिनुभयो ।
सुन तस्करी प्रकरणमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उच्च नेताहरूदेखि सरकारी कर्मचारी, नेपाल प्रहरीका उच्च अधिकारीहरूलाई समेत कारबाहीको सिफारिस गरिएको छ ।
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेकोे हो ।
आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करीबारे अध्ययन प्रतिवेदन बुझाएको हो । ४८५ पृष्ठ लामो प्रतिवेदनमा राजनीतिक तहकै नेतृत्व सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यसहित अन्य सदस्यहरूले सो प्रतिवेदन मन्त्री लामिछानेलाई बुझाएका हुन् ।
यस्तै वर्तमान सत्ता गठबन्धनले जनताको विश्वास जितेर काम गरेर देखाउनुपर्ने उहाँको भनाइ रहेको छ ।