काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।
सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेको हो भने माओवादी पदाधिकारी बैठकले पनि दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा मात्र उम्मेदवार उठाउने भएको छ । एकीकृत समाजवादीले दुवै क्षेत्रमा उम्मेदवारको नाम टुगो लगाइसकेको छ । जनता समाजवादीले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विडारीले अहिलेको सत्ता सरकार गठबन्धनको नभएर सहकार्य मात्रै भएको भनेर एमालेकै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसकेकाले पनि आगामी उपनिर्वाचनमा आपसमा प्रतिष्पर्धा गर्नु र आ–आफ्ना दलका उम्मेदवार उठाउनु सामान्य भएको स्पष्ट पार्नुभएको छ ।
चुनावमा विभिन्न प्रकारका सिद्धान्तहरु भिडुन, जनताले आफ्नो रोजाइअनुसार छान्न सकुन् भन्ने कै दाउमा बहुदलिय व्यवस्था रहेको बताउँदै उहाँले सत्तामा बस्नु मूख्य कारण नै सरकार चलाउन भएकाले यो एक्लै सम्भव नहुने भएपछि जो सँग कुरा मिल्छ उहि दलहरुसँग सहकार्य हुने तर्क गर्नुभएको छ ।
यस्तै नेता बिडारीले गठबन्धनमा देखिएका केहि स–साना समस्याहरु आन्तरिक भएकाले छलफलबाटै समाधान हुने पनि बताउनुभएको छ । अहिलेको गठबन्धनमा कोहि पनि रुष्ट र असन्तुष्टि नभएको दाबी गर्दै उहाँले तत्काल कुनै पनि समस्या नआउनेमा आफूहरु ढुक्क भएको स्पष्ट पार्नुभयो ।