काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको अवरोध कायमै रहने बताउनुभएको छ ।
यस प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग लगातार राख्दै आइरहेको कांग्रेसले समिती नबनेसम्म अवरोध रहिरहने स्पष्ट पार्नुभयो ।
प्रवक्ता महतले लामिछाने निर्दोष भए समितीले दोषी देखाउने कुरा नभएकाले समिती बनाउन के कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री लामिछानेले चाहिरहनुभएको छैन भन्ने आशंकीत प्रश्न उठ्ने बताउनुभयो ।
समिती नबनाउनुले यो प्रकरणमा नाम मुछिएकाहरु दोषी छन् भन्ने कुरा सरासर प्रष्ट हुने पनि प्रवक्ता महतको दाबी रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले आफूहरुको मागलाई सरकारले गम्भिरताकासाथ सुनुवाई गरेन भने चपु लागेर बस्ने अवस्था नरहेको पनि बताउनुभयो ।
सरकारबाट बाहिरिनु परेको पिडा कांग्रेसले पोखिरहेको छ भन्ने बाहिर सार्वजनिक हल्लामा प्रवक्ता महतले आफूहरुलाई सत्तामा जान कुनै हतारो नभएको स्पष्ट पार्दै बरु अहिले सत्तामा रहेकालाई कलिे पनि छोड्न नपरोस भन्ने लोभ भएको आरोप लगाउनुभयो ।
मूल्य, मान्यता र विश्वासको राजनीति गर्ने कांग्रेसलाई देश र जनताको चिन्ता भएको पनि उहाँले बताउनुभयो ।