काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि मार्ग प्रसस्त गरिदिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्रीजस्तो पदमा रहेका व्यक्ति यस्तो प्रकरणमा मुछिदासम्म पनि होइन, नाइ भनेर बस्न नसुहाएको बताउँदै छानविन समिति बनाएर अनुसन्धान गर्नको लागि सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति खतिवडाले समिति गठन गर्नासाथ निदोष भए दोषी नदेखिने भएकाले यसमा आत्तिनु र डराउनुपर्ने कारण नै नभएकाले बरु समिति गठन गर्न नमानेको अवस्थामा शंका गर्ने ठाउँ धेरै रहेको स्पष्ट पार्नुभएको छ ।
यस्तै, रास्वपा पार्टी नै सहकारीबाट चलेको रहेछ भन्ने खुल्दै गइरहेको पनि सभापति खतिवडाको भनाइ रहेको छ ।
कांग्रेस नेता समेत रहनुभएका खतिवडाले ठगी प्रकरणमा नाम मुछिएकालाई सोधपुछको साटो सरकारले बचाउने र उन्मुक्ति दिनतर्फ लागिरहेको आरोप समेत लगाउनुभएको छ ।
रास्वपाका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारी ठगीमा आरोपित देखिएका छन् ।
रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम हिनामिना आरोपमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले दुई जना अर्याल र बुर्लाकोटीसमेत आरोपित रहेका दाबी गरिरहेको छ ।
अर्याल ’हाम्रो नयाँ कृषि सहकारी संस्था’ को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको र त्यस सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेको खुलेको छ ।
यस्तै, गृहमन्त्रीकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरले छापा मारेको छ ।