काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकार बनाउनका लागि मात्रै भएकाले आगामी सबै निर्वाचनमा छुट्टाछुट्टै लड्ने बताउनुभएको छ ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा पनि गठबन्धनमा आवद्ध दलहरुले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । माओवादी केन्द्रले भने इलाम २ मा नेकपा एमालेलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेकपा एसले जितबहादुर राई, रास्वपाले मिलन लिम्वुलाई उम्मेदवार चयन गरिसकेका छन् । यस्तै नेपाली कांग्रसबाट डम्बर खड्का, राप्रपाबाट लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले उपनिर्वाचनमा एमालेलाई आफूहरुले सघाउनुपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्नुभएको छ ।
गठबन्धनका कुनै पनि बैठकमा एकअर्काको समर्थनमा लड्ने भन्ने कुरा नै नउठेकाले स्वतन्त्र र आ–आफ्ना उम्मेद्वार उठाएको पनि नेता खनालको भनाइ छ । अहिलेको अवस्थामा अलगअलग हिड्नु नै वामपन्थी एकता भएको पनि उहाँको तर्क रहेको छ ।
यस्तै उहाँले इलाममा आफ्ना उम्मेदवारका समर्थनमा लहर नै बन्न थालिसकेकाले विजयी निश्चन देखिएको दाबी गर्नुभएको छ ।
उपनिर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता, पर्सी २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरण गरिने आयोगको कार्यतालिका रहेको छ भने २८ देखि वैशाख १२ गतेसम्म प्रचारप्रसारको समय रहेको छ । वैशाख १५ गते मतदानको कार्यतालिका रहेको छ ।