काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले अहिलेको नयाँ सत्ता गठबन्धन सुशासनलाई बलियो बनाउने र संवृद्धि हासिल गर्ने मूख्य उद्देश्यले बनेको बताउनुभएको छ ।
यस्तै नेता शर्माले यो गठबन्धनबाट देश र जनताले धेरै आशा गर्न सक्ने स्थिती रहेकोमा जोड दिनुभएको छ । फरक विचार, सिद्धान्त र सोचाइ भएका दलहरुको समिश्रण बनेकाले पनि यसबाट विकासका कामको धेरै सम्भावना र विश्वास रहेको नेता शर्माले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले अब आउने आर्थिक वर्षको बजेटबाट जनताले गरेको आशा विश्वासमा परिणत हुने दाबी गर्नुभयो ।
केन्द्रमा सत्ता समिकरण फेरबदल हुनासाथ प्रदेशमा पनि उथलपुथल हुनु राम्रो नभएको बताउँदै केन्द्रमा परिवर्तन पछि प्रदेशमा पनि फेरबदल हुनैपर्छ भन्ने सर्त राखिन नहुने तर्क गर्नुभयो ।
आ–आफ्नो प्रदेशमा, आ–आफ्नो सापेक्षतामा सरकार निर्माण गर्ने र कामकारवाही अगाडि बढाउने अधिकार प्रत्यायोजन गरिनुपर्ने नेता शर्माको भनाइ छ । राजनीतिक दलहरुले पनि यसमा आफ्नै निर्णय लाद्न नहुने उहाँले दोहो¥याउनुभयो । यस्तै संघीयता केन्द्रको चेपुवामा पर्न नहुनेमासमेत नेता शर्माले जोड दिनुभयो ।
यस्तै आगामी वैशाखमा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई इलाम २ मा माओवादीले समर्थन गर्ने निर्णय गरेको पनि उहाँको भनाइ छ ।
सुरुमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय भए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल र सहसमित पछि इलाममा सुहाङन नेम्वाङलाई समर्थन गर्नेमा निर्णय भएकाले आफूहरु पनि यो निर्णयबाट सन्तुष्ट भएको नेता शर्माले बताउनुभयो ।
इलाममा गठबन्धनमा आवद्ध नेकपा एस र रास्वपाले भने आ–आफ्नै उम्मेदवार उठाएका छन् ।