काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पुष्पकमल दाहाल प्रचण्ड एमाले बेगर गठबन्धन रहेनछ भन्ने भएर फर्किएर आएको बताउनुभएको छ ।
कांग्रेससँगको सत्ता गठबन्धन तोडेर प्रचण्डले एमालेसहितको गठबन्धन बनाउनुभएको छ । यतिबेला एमाले, माओवादी, नेकपा एस, रास्वपा र जसपासम्मिलित गठबन्धनको सरकार छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यतिबेलाको सरकारले गरेका कामहरु नियाली रहेको बताउँदै देश र जनताका हितमै काम गर्नेमा आफू आशावादी रहेकोमा जोड दिनुभएको छ ।
देशमा भइरहेको बेथिती, भ्रष्टाचार र अनियमिततालाई अहिलेको सरकारले नजरअन्दाज नगरी काम गर्नुपर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने नेता थापाको सुझाव रहेको छ ।
जनतामा बढेको निराशा चिरेर आशामा बदल्नुपर्ने जिम्मेवारी अहिलेको गठबन्धन सरकारको काँधमा आएको पनि उहाँले बताउनुभयो ।
यस्तै गण्डकी प्रदेशको प्रसंगमा नेता थापाले नवनियक्त मुख्यमन्त्री खगराज अधिकारीले यदि कानुन र संविधान विपरित गरेको भए त्यो मान्य नहुने भएकाले यस्ता मान्य नहुने कुराका लागि तर्क गर्नु आवश्यक नरहेको स्पष्ट पार्नुभएको छ ।
सर्वोच्च अदालतको नजिरलाई चुनौती दिँदै गण्डकीमा एमाले संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । बहालवाला सभामुखको गणना गर्दै बहुमत संख्या पु¥याएर गरिएको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यस्तै प्रकृतिको राजनीतिक घटनामा सर्वोच्च गएको एमालेले गण्डकीमा त्यही गल्ती दोहो¥याएको छ ।