काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद प्रकाश रसाइली ’स्नेही’ ले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष अप्रत्यक्ष दुवैरुपमा संलग्नता रहेको दाबी गर्नुभएको छ ।
यो प्रकरणका मुख्य भनिएका जीवी राई र गोरखा मिडिया प्रालिलाई डुबाउने कुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने कै संलग्नता रहेको नेता रसाईलीको आरोप रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रसाईलीले सहकारी ठगीमा गृहमन्त्री लामिछाने नै दोषी हुन् भन्नलाई उहाँले तीन पुस्ते ल्याप्चे लगाएको, सामाजिक सञ्जालमा सार्वजनिक भएका गोरखा मिडियाका नाममा लिएका प्रमाणहरु भन्दा बलियो अरु प्रमाण केहि हुन नसक्ने स्पष्ट पार्नुभयो । जति पनि अहिले सार्वजनिक भइरहेका छन् यी प्रमाणहरु नै गृहमन्त्री लामिछाने यो प्रकरणमा संलग्न छन् भन्ने प्रयाप्त प्रमाण भएको उहाँको दाबी छ ।
यस्तै नेता रसाइलीले संसदीय छानविन समिती गठन हुनैपर्ने र नभएसम्म आफूहरुको अवरोध र विरोध कायमै रहने बताउनुभएको छ । समिती गठन पछि थप प्रमाणहरु आउने डरले नै सरकारले समिती बनाउन अस्विकार गरिरहेको नेता रसाइलीको भनाइ छ । संसदमा मात्रै उठाएको आवाज भोलि सडकमा पनि उठाउने बताउँदै उहाँले पीडितको न्यायको लागि आफूहरु कतै पनि टसमस नहुने बताउनुभयो ।
यस्तै गृहमन्त्री लामिछानेले देश र जनताका लागि गर्नुपर्ने काम अहिलेसम्म एउटा पनि नगरेको र आफ्नाविरुद्धका प्रमाणहरु लुकाउने काम मात्रै गरिरहेको समेत उहाँको आरोप रहेको छ । भ्रष्टाचारीलाई बचाउने र कांग्रेसका निर्दोष नेताहरुलाई फसाउने काममा गृहमन्त्री लागिपरेको पनि नेता रसाइलीको भनाइ रहेको छ ।