Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेले आफूमाथि सोधपुछ नै गर्न नमिल्ने भनेर अडान लिनु हठवादी कुरा हो: रामनारायण बिडारी

गृहमन्त्री लामिछानेले आफूमाथि सोधपुछ नै गर्न नमिल्ने भनेर अडान लिनु हठवादी कुरा हो: रामनारायण बिडारी

  • शुक्रवार, चैत्र ३० २०८०

  • 577
    SHARES

  • गृहमन्त्री लामिछानेले आफूमाथि सोधपुछ नै गर्न नमिल्ने भनेर अडान लिनु हठवादी कुरा हो: रामनारायण बिडारी

    नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सोधपुछ नै गर्न नमिल्ने भनेर अडान लिने कुरा हठवादी भएको बताउनुभएको छ ।

    रास्वपाका सभापति समेत रहनुभएका लामिछानेले आफूमाथि सोधपुछ र संसदीय छानविन समिती बनाइयो भने बरु गठबन्धनबाट बाहिरिने र सरकार नै छाड्न तयार रहेको चेतावनी दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले सोहि प्रसंगमा यो अडान लामिछानेको हठवादी रहेको आरोप लगाउनुभएको छ । गृहमन्त्री लामिछाने निर्दोष भए छानविन र समिती बनाउन नदिनुपर्ने कारण नै नरहेकाले छानिवनमा बरु सघाउनुपर्ने व्यक्तिले नै यस्तो भन्नु गैरजिम्मेवारीपन झल्किएको बताउनुभयो ।

    कांग्रेससहित गठबन्धनमै रहेका दलहरुले पनि सहकारी प्रकरणमा छानविन समिती गठन हुनैपर्ने माग राखेका छन् । यस्तै नेता बिडारीले यो प्रकरणमा समिती बनाउनु र नबनाउनुमा केहि फरक नहुने पनि बताउनुभएको छ ।

    समिती यदि गठन गरिहाले पनि यसले कसैलाई कारवाही गर्न नसक्ने र यो समिती अनुसन्धाकर्ता पनि नभएकाले यसले दोषी करार गर्न पनि नमिल्ने र मात्रै गफ गर्ने र भत्ता पचाउने काम मात्रै हुने नेता बिडारीको तर्क छ । यस्तै छानविन समिती बनाउनासाथ गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि नहुने नेता बिडारीको भनाइ छ ।

    कांग्रेसले माग गरिरहेको संसदीय छानविन समिती बनाउन प्रधानमन्त्रीले किन मान्नुभएन भन्ने आफूलाई थाहा नभएको बताउँदै बहालवाला मन्त्रीमाथि छानविन गर्नै नहुने भन्ने कुनै पनि कानुनमा नभएको उहाँले स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मात्रै गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताउनुभएको छ ।

    कांग्रेसले गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रधानमन्त्री प्रचण्डले लगाउनुभएको छ ।

    कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने प्रचण्डको भनाइ थियो ।
    प्रधानमन्त्री प्रचण्डले यहि चैत ६ गतेको प्रतिनिधि सभा बैठकमा पनि सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न नभएको प्रहरीको ब्रिफिङ रहेको स्पष्ट पार्नुभयो ।

    यस्तै अर्को प्रसंगमा उहाँले एमाले र कांग्रेस मिलेर सरकार बनाउने भन्ने कुरा नहुने बताउनुभएको छ ।


    शुक्रवार, चैत्र ३० २०८००८:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij