काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले अहिले संसद बन्द गर्नुपर्ने कारण नै नरहेको बताउनुभएको छ । सरकारले संसद्को चालु अधिवेशन आजराति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
महत्वपूर्ण विद्येयकहरु प्रस्तुत गर्न बाँकी नै भएकाले दुई वटा मात्रै पारित गरेर संसद बन्द गर्नुपर्ने आवश्यकता नरहेको नेता घिमिरेको भनाइ रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष भए छानविन समिती बनाउन किन अस्विकार गरिरहेको भन्ने प्रश्न गर्दै निर्दोष सावित भए सफाइ पाउने, दोषी भए कारवाही हुनुपर्छ भन्ने मात्रै आफूहरुको माग रहेको स्पष्ट पार्नुभयो । सरकारले समिती बनाउन अटेर गरेर गृहमन्त्रीलाई उन्मुक्ति दिन खोजिरहेको समेत नेता घिमिरेको आरोप रहेको छ ।
गठबन्धनकै संसदमा बहुमत भएकाले संसदीय छानविन समितीमा सरकारकै बहुमत हुने, संयोजक पनि गठबन्धनकै तोकिने भएकाले झन् यदि निर्दोष भए क्लिन चिट पाउने यो भन्दा राम्रो अवसर अरु नहुने हुँदाहुँदै पनि समिती गठन गर्न नमान्नु, प्रतिपक्षको मागलाई व्यवास्ता गर्नुले गम्भिर आशंका उब्जाएको नेता घिमिरेको दाबी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले समिती गठन गर्न हुन्न भन्नु स्वयम् प्रकरणमा नाम मुछिएका व्यक्ति गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले नै समिती गठन गरे सरकारबाट बाहिरिन्छु भन्ने लगायतका कुराहरुले सहकारी प्रकरणमा सरकारकै संलग्नता देखिएको पुष्टि हुने पनि उहाँको तर्क छ ।
यस्तै नेता घिमिरेले जस्का विषयमा प्रश्न उठेको छ, उहि व्यक्ति छानविन गर्ने निकायको प्रमूख भएर कुनै पनि हालतमा बस्न नमिल्ने भएकाले यो प्रकरणमा छानविन र समिती बन्नैपर्ने माग गर्दै यहि निकायले गरेको छानविनलाई आफूहरुले नमान्ने स्पष्ट पार्नुभयो ।
यो भन्दा अगाडिका मन्त्रीकाबारे पनि प्रश्न उठ्दा समिती बनेको स्मरण गराउँदै उहाँले अहिले भने सहकारी प्रकरणमा समिती बनाउन सरकार तयार नहुनु नै नाम मुछिएका व्यक्ति दोषी छन् भन्ने सबैभन्दा ठुलो प्रमाण भएको पनि नेता घिमिरेको आरोप छ ।