काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओलीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सरकार गठनमा असर परेको बताउनुभएको छ । उहाँले नाउपालाई मुख्यमन्त्री दिने सहमति भएकाले उनीहरूबीचमा संवाद भएर पार्टी एकढिक्का भएर आउनु पर्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै ओलीले नाउपाबाट छुट्टा छुट्टै दाबी भएकाले सुदूरपश्चिमका जनतालाई आश्चर्यचकित बनाएको बताउनुभयो । वर्तमान सत्ता गठबन्धनले कुनै व्यक्तिलाई मुख्यमन्त्री नदिएको भन्दै उहाँले नाउपालाई दिने सहमति भएकाले नाउपा मिलेर आउनु पर्नेमा जोड दिनुभयो ।
नाउपाबीना सुदूरपश्चिममा सरकार गठन गर्न बहुमत नपुग्ने अवस्था रहेका बेला रेशम र रञ्जिताबीचको विवादले निकै सकस पैदा भएको बताउनुभयो । यससँगै नेकपा एस पनि वर्तमान सत्ता गठबन्धनबाट फरक कित्तामा उभिएकाले पनि सुदूरपश्चिममा सरकार गठनमा असहजता आएको उहाँले बताउनुभयो ।