काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले वर्तमान सत्ता गठबन्धन ढाल्ने चलखेलमा आफूहरु नलागेको बताउनुभएको छ ।
गठबन्धन ढाल्न कांग्रेस लाग्यो भन्ने बाहिर आइरहेका खबरहरुको खण्डन गर्दै नेता पाण्डेले आफूहरु यतिबेला फुटाउने धन्दामा नरहेको दाबी गर्दै पार्टीको संगठन आन्तरिक रुपमा मजबुत र सुदृढ बनाउने, तोकिएकै समय ०८२ सालमा महाधिवेशन सम्पन्न गर्ने, ०८४ को निर्वाचनको तयारीलगायतका विषयमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
आफूहरु मात्रै प्रतिपक्षको भुमिका शसक्तरुपमा निभाउन लागिपरेको पनि नेता पाण्डेको भनाइ रहेको छ । सत्तामा हुँदा देश र जनताको हितमा मात्रै सोचेर काम गर्ने र प्रतिपक्षमा रहँदा रचनात्मक प्रतिपक्षको भुमिकामा रहदै आइरहेको कांग्रेसले अर्को दललाई फुटाउने र टुटाउने तर्फ नसोच्ने नेता पाण्डेको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले राजनीतिमा देखिएका विसंगतीलाई हटाएर असल संस्कृति विकाश गर्नु नै कांग्रेसको लक्ष्य रहेको दाबी गर्नुभयो । यस्तै उहाँले नागरिकका आवश्यकतालाई परिपुर्ती गर्ने दिशामा प्रत्यक ठाउँमा आवाज उठाउने र दवाव दिनेमा कति कतै पनि नझुक्ने र नरोकिने पनि बताउनुभयो ।
यस्तै एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाहिर हुनुपरेको पिडामा कांग्रेस छ भन्ने प्रसंगमा नेता पाण्डेले ओलीले भनेको कुरा कुनै पनि तवरबाट सहि नभएको तर्क गर्नुभयो । एमाले र कांग्रेसबीच राजनीतिक प्रतिष्पर्धा भए पनि ओलीले यो विषयमा के कारण र किन बोले भन्नेमा आफूहरुले बुझ्ने र प्रतिक्रिया दिने नेता पाण्डेले बताउनुभएको छ ।