काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँगको सहकार्यमा सबैको सकारात्म प्रतिक्रिया आइरहेको बताउनुभएको छ ।
सहमति नै जुटि नसके पनि कांग्रेस र एमालेका नेताहरु, राजनीतिक विश्लेषकहरुले सकारात्मक र गम्भिरतापूर्व लिएको नेता कोइरालाको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले एमाले र कांग्रेस अब मिलेर जाने भन्ने कुरा अगाडि बढिरहेको बताउँदै आगामी १५ गतेको उपनिर्वाचन पछि आफूहरु यो विषयमा छलफल गर्ने तयारीमा रहेको स्पष्ट पार्नुभयो । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली यो कुरामा सहमत हुने आफूलाई विश्वास रहेको पनि उहाँको भनाइ छ ।
यस्तै उहाँले देशलाई पहिलो स्थानमा राखेर सोच्ने, कुन–कुन अवस्थामा अफ्ठेराहरु छन्, संविधान बनाउँदा के–के कुरामा कमिकमजोरीहरु भए यी कुरालाई सुधार गरेर जानुपर्ने बेला आएकाले अब यसतर्फ गम्भिररुपमा सोच्नुपर्ने समय आएको तर्क गर्नुभयो ।
अहिले अधिकांश नेताको भोलि गएर प्रधानमन्त्री बन्छु भन्ने उदेश्य भएको तर देश र जनताका लागि के गर्छु भन्ने केहि पनि भिजन नभएको अवस्थामा अब भने आफ्नो भन्दा पनि देश र जनताको लागि पहिला सोच्ने नेतृत्वको आवश्यकता रहेको नेता कोइरालाको भनाइ छ ।
देशमा जति पनि बेथिती र भ्रष्टाचार बढेको छ यसमा सरकारकै संलग्नता देखिएको प्रष्ट हुने दाबी गर्दै उहाँले यसबाट जनतामा निरासा र दलहरुप्रतिको विश्वास गुमेको बताउनुभयो ।
यस्तै अर्को प्रसंगमा नेता कोइरालाले संविधानले राजनीतिक स्थायित्व दिन सक्दैँन भन्ने कुरा छर्लङग भइसकेको बताउनुभएको छ ।
निर्वाचन प्रणालीले डेलिभरी गर्ने, सुशासन दिनेमा चुकेको दाबी गर्दै नेता कोइरालाले राजनीतिक स्थायित्व नभइकन डेलिभरी, सुशासन र आर्थिक विकाश हुनै नसक्ने स्पष्ट पार्नुभयो ।