Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा विवादमा चिनियाँ राजदूतको प्रवेशः संविधान ध्वस्त हुने मन्त्रीको चेतावनी

नेकपा विवादमा चिनियाँ राजदूतको प्रवेशः संविधान ध्वस्त हुने मन्त्रीको चेतावनी

  • सोमवार, आषाढ २२ २०७७

  • 831
    SHARES

  • नेकपा विवादमा चिनियाँ राजदूतको प्रवेशः संविधान ध्वस्त हुने मन्त्रीको चेतावनी

    काडमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगी सरकार ढल्ने र पार्टी समेत विभाजन हुने संघारबाट गुज्रिरहेका बेला नेपालमा चिनियाँ राजदूत हाउ यान्छीको राजनीतिक दोडधुप फेरि सुरु भएको छ । भारतको राज्य संयन्त्र आफूलाई हटाउन लागिपरेको र त्यसमा नेपालकै केही नेताहरुले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको अभिव्यक्ति दिएपछि पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको राजीनामा मागिएका बेला चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको हो ।

    हिजो साँझ मात्रै राजदूत यान्छीले नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपालसँग उहाँको कोटेश्वरस्थित निवासमै पुगेर भेट गरेपछि नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेपको विषय फेरि बहसमा आएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला वरिष्ठ नेता नेपालसँग भएको भेटबारे अनेकन आशंकाहरु व्यक्त भइरहेका छन् ।

    कतिपयले भारतीय हस्तक्षेपको विरोध गरेर प्रधानमन्त्री ओलीले चिनियाँ हस्तक्षेपलाई स्वागत गरेको कठोर टिप्पणी समेत गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजदूत यान्छीको सक्रियतालाई ‘रिमोट कन्ट्रोल’को संज्ञा दिनुभएको छ । एकातिर प्रधानमन्त्रीले सरकार ढाल्न भारतीय राजदूत सक्रिय भएको अभिव्यक्ति दिने तर अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घरमा पुगेको भन्दै थापाले के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ? भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ ।

    यस्तै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता धनराज गुरुङले पनि माधव नेपालसँग चिनियाँ राजदूत यान्छीको भेटघाटबारे टिप्पणी गर्दै कुर्सी ढलाउन र बचाउन राष्ट्रियतालाई नै तिलाञ्जली भनेर प्रश्न गर्नुभएको छ ।

    मुलुकको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेपबारे सत्तारुढ दलकै नेताहरुले समेत आपत्ति जनाएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक भूमिकामा विदेशीको हस्तक्षेप स्वीकार्य नरहेको भन्दै ट्विट गर्नभएको छ ।

    माधव नेपालले राजदूत यान्छीबीच भेटवार्ता भएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले उठाएको वैदशिक हस्तक्षेपको प्रसंगलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका नेता टोपबहादुर रायमाझीले पनि कुनै पनि राष्ट्रकाृ वैदेशिक हस्तक्षेप नेताहरुले स्वीकार गरेका हुन् भने त्यो गलत हुने टिप्पणी गर्नुभयो ।

    Audio Player

    पार्टीमा विवाद चुलिएका बेला चिनियाँ राजदूत यान्छीबीच भएको भेटलाई नेता नेपालको सचिवालयले सामान्य शिष्टाचार भेट भनेको छ । तर पार्टी फुटको अवस्था श्रृजना भएका बेला चिनियाँ राजदूतको दौडधुपलाई सामान्य मान्न नसकिने जानकारहरु बताउँछन् ।
    यसैबीच ओली सरकारका एक मन्त्री हृदयश त्रिपाठीले अहिले पार्टी विभाजन भए संविधान नै समाप्त हुने गम्भीर चेतावनी दिनुभएको छ । दुभाग्यवश नेकपाको विभाजन अहिले भइहालेमा यसको असरले संविधान नै समाप्त हुने र मुलुकको राजनीतिक कोर्स नै बदलिन सक्ने चेतावनी उहाँले दिनुभयो ।

    Audio Player

    यस्तै नेकपाका नेता टोपबहादुर रायमाझीले पार्टी विभाजन भए गणतन्त्रमा गम्भीर खतरा उत्पन्न हुने बताउनुभयो । गणतन्त्र जोगाउनका लागि जसरी पनि पार्टीलाई विभाजनबाट रोक्नुपर्ने उहाँको भनाई छ । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी प्रचण्ड नेपाल समुहलाई दिनुभएको छ । पार्टी फुटाएर भए पनि प्रधानमन्त्री पदमा कायमै रहने रणनीतिस्वरुप ओलीले नेपाली कांग्रेसलाई सत्ता साझेदारीका लागि प्रस्ताव समेत गरिसक्नुभएको छ । तर नेता रायमाझी झण्डै दुई तिहाईको सरकार ढालेर कुनै शक्तिसँगै मिल्दै बहुमतको सरकार बनाउने खेल हुने गलत रहेको बताउनुभयो ।

    Audio Player

    यता प्रमुख विपक्षी नेपाली कांग्रेसले छिमेकीको पर्खाल भत्काएर आफ्नो धुरी बलियो हुँदैन भन्ने मान्यतामा पार्टी अडिग रहेको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले नेकपामा ओली समूह र प्रचण्ड–नेपाल समूह दुवैले कांग्रेससँग सत्ता सहकार्यको प्रस्ताव राखेको भएपनि त्यसमा कांग्रेसले कुनै चासो र सरोकार नराखेको बताउनुभयो । उहाँले पार्टीभित्रका विरोधी खेमालाई तर्साउन नेकपाका दुई समूहले कांग्रेससँगको सहकार्यबारे अनेकन प्रचार गरिरहेको हुन सक्ने टिप्पणी गर्नुभयोे ।

    Audio Player

    यसैबीच सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । आज दुई अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा डेढघण्टासमम्म वार्ता भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेन । उत्कर्षमा रहेको विवाद दुई अध्यक्ष नै बसेर समाधान गर्ने सहमति ओली र दाहालबीच भएको छ ।


    सोमवार, आषाढ २२ २०७७०८:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij