काठमाडौं । नेकपा एमालेका नेता महेश वर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीलाई विषय बनाएर संसद अवरोध गर्नु गलत भएको बताउनुभएको छ ।
नेता वर्तौलाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको सहकारी ठगी प्रकरणको विषयमा कांग्रेसले संसद अवरोध गरेर महत्वपूर्ण विद्येयकहरु रोकिराखेको आरोप लगाउँदै अब चल्ने संसदलाई नरोक्न आग्रहसमेत गर्नुभएको छ । यस्तै कांग्रेसले सरकारलाई सबै हिसावले अस्तव्यस्त बनाएर अस्थिरतातर्फ लैजान खोजेको समेत उहाँले आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कांग्रेसले जुन कुरा उठाएर संसदमा लगातार अवरोध ग¥यो त्यो कुरा संगतयुक्त नभएको भन्ने आफूहरुको आग्रह भएको स्पष्ट पार्नुभएको छ । सरकार र गृहमन्त्रीको कुरा संसदबाट कांग्रेसले सुन्न तयार हुन्छ भने त्यसपश्चात कांग्रेसलाई सुन्न एमाले पनि तयार रहने नेता वर्तौलाको भनाइ छ ।
कांग्रसले लगातार सहकारी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा लगायतका माग राख्दै संसदमा अवरोध गरिरहेको थियो भने यहि २८ गते शुक्रबार बस्ने संसद बैठकमा पनि सोहि अडान कायम राख्ने बताएको छ । नेता वर्तौलाले अबका दिनमा संसदलाई अगाडि बढाउनका लागि कांग्रेसले सहज भुमिका खेलिदिन आग्रह गर्नुभएको छ ।
यस्तै सहकारीमा रकम हिनामिना गर्ने दोषीमाथि कारवाही र पीडितलाई क्षतीपुर्तीसहित न्यायको मागमा आफूहरु पनि उभिएको, दोषीलाई कुनै पनि हालतमा उम्किन नदिनतर्फ एकवद्ध भएर लागिपरेको नेता बर्तौलाको भनाइ छ ।
गृहमन्त्री लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने कुरामा कांग््रेसको अडान कायमै रहेको छ भने गठबबन्धन र गृहमन्त्री लामिछाने समिति बनाउने कुनै आधार र कारण नै नभएको भन्दै उम्किरहेका छन् ।