Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत, कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै धम्की (खास खबर)

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत, कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै धम्की (खास खबर)

  • सोमवार, जेठ ७ २०८१

  • 847
    SHARES

  • कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत, कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै धम्की (खास खबर)
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाउनुभएको छ । तेस्रो कार्यकालमै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत प्राप्त गर्नुभयो भने मत दिन्न भन्नेमा १ मत परेको थियो । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुभएको हो । उहाँ विश्वासको मत लिने क्रममा कांग्रेससँग आक्रामक बन्नुभयो । कांग्रेसले यसको मूल्य चुकाउनुपर्ने प्रचण्डको धारणा थियो । 
     
    नेपाली कांग्रेसले संसद् बैठक शुरु हुनासाथ विरोध जनाएको थियो । चर्को नाराबाजीका बीच सभामुख देवराज घिमिरेले कारबाही अघि बढाएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर तुल्याएर सहकारी ठगलाई जोगाउने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । 
     
    नेकपा एमालेले संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपनि कांग्रेसले संसद् बन्धक बनाउन खोजेको आरोप लगाएको छ । कानूनमन्त्री समेत रहनुभएका एमाले सांसद पदम गिरिले कांग्रेसले सहमति र व्यवहार फरकफरक देखाएको बताउनुभयो । संसद्लाई होल्ड गरेर धेरै दिन बस्न नसकिने उहाँको धारणा थियो । 
     
    प्रतिपक्षीको बेञ्चमा रहेका सांसदहरू सरकारको काम कारबाहीबाट रुष्ट बनेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केशीले प्रचण्डले १७ महिनामा चारपटक विश्वासको मत लिएर जग हँसाएको बताउनुभयो । पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता स्वयं प्रचण्डले सिर्जना गरेको उहाँको आरोप छ । 
     
    संसद्को आजको दृश्य हेर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सुरक्षित अवतरण चाहेको हो की भन्ने शंका उब्जिएको छ । सरकार भने पेलेरै अगाडि बढ्ने रणनीतिमा रहेको छ । कांग्रेसको अवरोध कायमै रहे अध्यादेश ल्याएर बजेट पारित गर्ने तयारीमा सत्तापक्ष रहेको बुझ्न सकिन्छ । 
     


    सोमवार, जेठ ७ २०८१०८:०२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij