काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले सरकार ढाल्ने कुनै पनि चलखेल नभएको बताउनुभएको छ ।
पार्टी अध्यक्ष माधव नेपाल प्रमुख प्रतिपक्ष दलको बैठकमा सहभागी भएको प्रसंगमा नेता खतिवडाले बैठकमा बोलाएपछि जानु, छलफल गर्नु र आफ्नो धारणा राख्नुले यसमा सरकार ढाल्ने र फेरबदलको कुनै चलखेल नभएको स्पष्ट पार्नुभयो ।
हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रतिपक्ष दलका महन्थ ठाकुर, उपेन्द्र यादवसँगै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल पनि सहभागी भएपछि नयाँ गठबन्धनको कसरत भइरहेको भन्ने राजनीतिक वृतमा चर्चा भइरहेको छ । प्रचण्ड सरकारमा नेकपा एसबाट दुई मन्त्री छन् भने सुदुरपश्चिम प्रदेशमा नेकपा एसकै नेतृत्व रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने कुनै छलफल र कुरा नभएकाले यसतर्फ चर्चा गर्नु गलत हुने स्पष्ट पार्नुभएको छ तर प्रदेशका विशेषता र बस्तुस्थितीको आधारमा विभिन्न राजतीतिक दलहरुसँग सहकार्य हुनसक्ने भने बताउनुभयो ।
यो कुरा परिस्थतीले निर्धारण गर्ने उहाँको तर्क छ । मधेश प्रदेशमा नेकपा एस गठबन्धनबाट बाहिरिन सक्ने बताउँदै अहिले नै टुंगो भने लागिनसकेको र पार्टीको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।