काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो पार्टी जहिले पनि जनताको पक्षमा रहेको बताउनुभएको छ ।
अहिले पनि संसदमा प्रमुख प्रतिपक्षका रुपमा रहेको कांग्रेसले सशक्तरुपमा जनताका आवाजलाई उठाइरहेको र भ्रष्ट र लुटतन्त्रकोविरुद्ध टसमस नभइ जोडदार आवाज उठाइरहेकोे उहाँको दाबी रहेको छ ।
कांग्रेस निष्क्रिय भयो, निदाएर बस्यो भन्ने बाहिर आइरहेका हल्लाहरुको खण्डन गर्दै नेता पौडेलले विभिन्न प्रश्नहरुसहित संसद र संसद बाहिर कांग्रेस उभिएको दाबी गर्नुभयो । यस्तै उहाँले संसदभित्र जनता र देशका विषयहरुलाई आफूहरुले सशक्त ढंगबाट उठाउरहेको पनि बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले कांग्रेसकै कारण सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको स्पष्ट पार्नुभएको छ ।
गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम प्रत्यक्ष जोडिएको सहकारी प्रकरणमा छानबिन समितिबाट दोषी ठहरीने जुनसुकै पदका व्यक्ति भए पनि कारबाहिबाट उम्किन नपाउने नेता पौडेलको भनाइ छ ।
यस्तै नेता पौडेलले भ्रष्टाचार र बेथितीबिरुद्ध निरन्तर आवाज उठाइरहेको कांग्रेसले आफ्नै पार्टीका नेताहरु पनि दोषी ठहरिएको अवस्था उन्मुक्ति नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री, नेता र सांसदले आफ्नो र पदको लागि भन्दा पनि देश जनताको हित र विकासका लागि पहिला सोच्नुपर्ने उहाँको भनाइ रहेको छ ।