काठमाडौं । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले सहकारीको रकम हिनामिना प्रकरणमा कसैले कसलाई नबचाउने बताउनुभएको छ ।
जुन पार्टीको व्यक्ति दोषी ठहरिए पनि उस्लाई कानुनी दायरामा ल्याएर कारबाही गरिने भएकाले पद र व्यक्ति नभई कसुरलाई हेरिने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चालिसेले संसदीय छानबिन विशेष समितिले काम शुरु गरिसकेकाले अन्तिम प्रतिवेदन आउनुअघि दोषी को र कस्लाई बचाउनेभन्ने बारे भ्रम फैलाउनु गलत भएको टिप्पणी गर्नुभयो ।
सहकारी प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएको छ ।
विभिन्न प्रमाणहरुका आधारमा गृहमन्त्री लामिछाने प्रत्यक्ष संलग्न भएको भन्दै कांग्रेस र यसका संगठनले विरोध र प्रदर्शन पनि गरेका थिए । तर नेता चालिसेले गृहमन्त्री लामिछानेको नाम जोडिएको भए पनि उहाँको लागि मात्रै समिति नबनाएको भने प्रष्ट पार्नुभयो । अब समितिले नै दोषी र निर्दोष पहिल्याउने पनि उहाँको भनाइ छ ।
यस्तै समितिले मन्त्री, नेतालाई बचाउने र फसाउने नभई समितिले निष्पक्ष, भयरहित काम गरेर सहकारी पिडीतलाई न्याय दिनेमा आफूहरु विश्वस्त भएको नेता चालिसेको भनाइ छ ।
जनताको ठगिएको रकम फिर्ता गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन आफूहरुले एक महिना संसदनै अवरुद्ध गराएको स्मरण गराउँदै उहाँले रकम फिर्ता हुन्छ भन्ने कुरामा ढुक्क हुन सहकारी पीडितहरुलाई आग्रह गर्नुभएको छ ।
सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको ।