काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सहकारीको रकम हिनामिना प्रकरणमा दोषी उम्किन नपाउने र निर्दोष कारबाहीको दायरामा नपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संसदीय छानबिन विशेष समितिका संयोजकसमेत रहनुभएका थापाले समितिले काम सुरु गरिसकेको र प्रमाण, तथ्यपरकका आधारमा गृहमन्त्री, मन्त्री, नेता तथा सांसद जुन पदका व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएको छ ।
यस्तै उहाँले मन्त्री, नेतालाई बचाउने र फसाउने नभई समितिले निष्पक्ष र स्वतन्त्र काम गरेर सहकारी पिडीतलाई न्याय दिने गरी काम भइरहेको बताउनुभयो ।
सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ र तोकिएकै समयभित्र आफूहरुले काम सक्ने नेता थापाले बताउनुभयो ।