काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने र सिंगो पार्टीलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफूले अध्यक्षमा उम्मेदवारी दिने स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले आफू अध्यक्षमा आए पार्टीलाई वैचारिक र संगठनात्मक रुपले सुदृढ बनाउने, राष्ट्रव्यापी बनाउने काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्य कम्युनिष्ट समूहहरुसँग पनि सैद्धान्तिक धरातलमा बहस र छलफल गरेर अगाडि बढ्ने पनि उहाँको भनाइ छ ।
एमालेबाट विभाजित भई २०७८ भदौमा बनेको नेकपा एसको महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।
यस्तै नेता खनालले पृथ्वी उल्टोदिसातर्फ घुम्न थाले पनि महाधिवेशन भने नरोकिने दाबी गर्नुभयो । महाधिवेशनको तयारी करिव–करिव पूरा भइसकेको र प्रतिनिधिहरु आउनेक्रम सुरु भइसकेको पनि नेता खनालले बताउनुभयो ।
नेकपा एसले यसलाई दशौँ राष्ट्रिय महाधिवेशन भनेको छ । महाधिवेशन आउन अब केही दिन मात्र बाँकी रहेको छ । पार्टी नेतृत्वमा त्रिपक्षीय भिडन्त हुने निश्चितजस्तै देखिएको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव नेपाल, सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी देखिएका छन् ।