एजेन्सी। अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदै छ । ३ नोभेम्बरका दिन निर्वाचन हुने भए पनि सोमबारसम्म नौ करोड अमेरिकनले मतदान गरिसकेको बिबिसीले जनाएको छ । अहिलेसम्म ६८ प्रतिशत अमेरिकनले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
राष्ट्रपतिको चुनावी मैदानमा दुई उम्मेदवार छन् ।यसपटक पनि डेमोक्रेटिक पार्टीका जो वाइडेन तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
ट्रम्प दोस्रोपटक तथा वाइडेन पहिलोपटक राष्ट्रपति हुने आकांक्षा राखेका छन् । ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका छन् । दुवैमध्ये जो निर्वाचित भए पनि अमेरिकाको भविष्य बुढा नेताकै काँधमा पर्ने देखिन्छ । ट्रम्प वर्तमान राष्ट्रपति हुन् ।
अर्का उम्मेदवार वाइडेन बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । उनी पहिलोपटक राष्ट्रपतिका प्रत्यासी बनेका हुन् । त्यसैले राष्ट्रपतिको चुनावमा के कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्नेमा दुवै उत्तिकै सशक्त छन् ।
वाइडेनले आफ्नो चुनावी सम्बोधनमा अमेरिकन नागरिकलाई खुसी पार्ने सामान्य रणनीति मात्र अपनाएका छन् ।उनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख अस्त्र बनाएका छन् । ट्रम्प भने आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन चुनावी मत सर्वेक्षणमा अगाडि देखिएका छन् ।। रिपब्लिकनका उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्प सर्वेक्षणमा वाइडेनभन्दा १० प्रतिशतले पछाडि छन् ।