काठमाडौं । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनपछि पार्टी झन् बलियो बन्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले यहि असार १६गदेखि हुने महाधिवेशनबाट पार्टी नयाँ ढंगबाट बलियो बनेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । महाधिवेशनको सम्पूर्ण व्यवस्थापन र तयारी अन्तिम अवस्थामा रहेको उहाँको भनाइ छ ।
एमालेबाट विभाजित भई २०७८ भदौमा बनेको नेकपा एसको महाधिवेशन १६ देखि सुरु भएर २० गतेसम्म सञ्चालन हुने छ । नेकपा एसले यसलाई दशौँ राष्ट्रिय महाधिवेशन भनेको छ ।
महाधिवेशन आउन अब केही दिन मात्र बाँकी रहेको छ । पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आकांक्षी देखिएका छन् । भुसाललाई सम्मानित नेता झलनाथ खनालले समर्थन गर्ने हुनुभएको छ ।
अध्यक्ष नेपालले सर्वसम्मतको प्रयास गर्ने यदि त्यो संभव हुन नसके प्रतिष्पर्धामा जाने बताउँदै प्रवक्ता खतिवडाले नेतृत्वका लागि माधव र घनश्याम दुवैजना योग्य भएकाले जुन आए पनि स्विकार्य हुने स्पष्ट पार्नुभयो ।